रत्ननगर, चितवन । नेपाल शिक्षक सङ्घ रत्ननगर नगर समितिको सातौँ स्थानीय प्रतिनिधि सभा आज (शनिबार) भव्यताका साथ सम्पन्न भएको छ। रत्ननगर कार्यसमितिका अध्यक्ष दधिराम पौडेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाल शिक्षक सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक सिम्खडा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। २०८२ साल माघ १० गते आयोजित यस सभामा सङ्घका रत्ननगर उपाध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिम्खडाले शिक्षकहरूको पेसागत हकहित र गुणस्तरीय शिक्षाका लागि सङ्घ सधैँ क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो। विशिष्ट अतिथि तथा वक्ताहरू कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल शिक्षक सङ्घ चितवनकी अध्यक्ष इन्दिरा देवी मरहट्टा र नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष शिवराज अधिकारीको उपस्थिति रहेको थियो। सो अवसरमा चितवन क्षेत्र नं. १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्ना धारणा राख्नुभएको थियो भने नेपाल शिक्षक सङ्घ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष तथा रत्ननगर शिक्षा समितिका सदस्य नेत्र घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सम्मान तथा पुरस्कार वितरण सभाको विशेष आकर्षणको रूपमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको थियो। नेपाल शिक्षक सङ्घमा आबद्ध भई लामो समय अहोरात्र सेवा पुर्याएका १० जना निवृत्त शिक्षकहरूलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो। यसैगरी, शिक्षा क्षेत्रमा योगदान पुर्याउने दुई जना बाल शिक्षिका र फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउने एक जना शिक्षकलाई विशेष सम्मान प्रदान गरियो। शैक्षिक प्रोत्साहन स्वरूप रत्ननगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमध्ये २०८१ सालको एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेहरूमा जनजागृति माध्यमिक विद्यालयका छात्र स्वागत दाहाल र नेपाल नमुना माध्यमिक विद्यालयकी छात्रा भावना लामिछाने रहेका छन्। प्रतिवेदन र सहभागिता बन्द सत्रमा सङ्घका नगर सचिव (अर्थ) बलराम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा १५० भन्दा बढी शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य सीता शर्मा ढकाल, नेपाल प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्य, नेपाल शिक्षक सङ्घ चितवनका विभिन्न पदाधिकारीहरू (राधा चौधरी, भविश्वर गुरुङ, अच्युतप्रसाद लामिछाने, प्रकाशचन्द्र भट्टराई लगायत), तथा छिमेकी नगर समितिका अध्यक्षहरू (भरतपुरका बटुकलाल तामाङ, राप्तीका युवराज पौडेल, खैरहनीकी विस्मिता ढकाल) को आतिथ्यता रहेको थियो। विभिन्न विद्यालयका प्रधानाध्यापक र संयोजकहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल शिक्षक सङ्घ रत्ननगरका सचिव धर्मराज चालिसेले गर्नुभएको थियो।
